फाइल तस्वीर
काठमाडौं – नेपाल सन् २०२६ सम्म जलविद्युतमा आत्मनिर्भर बन्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज मङ्गलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै सन् २०२६ सम्म सुख्खा याममा समेत आत्मनिर्भर बन्ने दावी गर्नुभएको हो ।

कार्यकारी निर्देशक घिसिङले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएको र जलविद्युतमा आत्मनिर्भर हुनुका साथै अब तीन वर्षमा २५ सय मेगावट विद्युत बढी हुने बताउनुभयो । सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत उत्पादन हुने अनुमान प्राधिकरणको रहेको छ ।

कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष ८०० मेगावट विद्युत उत्पादन बढ्दै गएको उल्लेख गर्नुभयो । सन् २०४२/४३ सम्ममा २० हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ थियो ।

‘११ हजार मेगावट जलविद्युत उत्पादनको लागि पीपीएको लागि पाइपलाइनमा रहेकाभन्दै करिब ७ हजार मेगावटको पीपीए भइसकेको रसन् २०३५ सम्म ८ हजार मेगावटको माग पुग्ने देखिन्छ’ कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । सन् २०२६ सम्म नेपाल सुख्खा याममा पनि जलविद्युतमा आत्मनिर्भर हुन्छ । नेपालको उद्योग स्थापना वृद्धि भएर उद्योगमा जलविद्युतको माग राम्रो रहेको हुनाले अवधि अघिपछि पनि हुनसक्छ । त्यो समयसम्म जलविद्युतमा आत्मनिर्भर भएर २५ सय मेगावाट विद्युत बढी हुने देखिन्छ ।’

त्यस्तै निर्देशक घिसिङले जलविद्युत उत्पादनको लागि १ दशमलव २ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताउनुभयो । सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको भन्दै कार्यकारी निर्देशक घिसिङले प्राधिकरण जलविद्युत उत्पादनको लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम भैरहेको उल्लेख गर्नुभयो ।