फाइल तस्वीर
काठमाडौं — प्रतिनिधिसभाका नवनिर्वाचित ११ जना सांसदहरुको सम्पत्ति विवरण नबुझाएको सङ्घीय संसद सचिवालयले जनाएको छ । निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाप्रति ११ जना सांसदले त्यसलाई उल्लङ्घन गरेका हुन् ।
सङ्घीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधिसभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ ।
यसरी सम्पत्ति विवरण नबुझाउनेमा ११ जना सांसदहरुमा नेपाली काङ्ग्रेसका पाँच जना सांसदहरू रहेका छन् । काङ्ग्रेसका उदय शमशेर जबरा, अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद टेकबहादुर गुरुङले सम्पत्ति विवरण बुझाएका छैनन् ।
यसैगरी सम्पत्ति विवरण नबुझाउनेमा नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी र राजकुमार गुप्ता छन् भने माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी पार्टी)का सांसद मेटमणि चौधरी र नेपाल समाजवादी पार्टीका सांसद महीन्द्र राय यादव रहेका छन् ।
यस्तै यसअघि ज्येष्ठ सदस्यको रूपमा अध्यक्ष भएर सांसदहरूलाई शपथ खुवाएका राप्रपाका सांसद पशुपति शमशेर जबराले पनि सम्पत्ति विवरण नबुझाउनुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सम्पत्ति विवरण नबुझाएका सांसदहरूले अब ५ हजार जरिवाना बुझाएर अझै १ महिनासम्म सम्पत्ति विवरण बुझाउनसक्ने व्यवस्था रहेको छ ।