फाइल तस्वीर
काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा गठित छानविन समितिले आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकाहरूमाथि छानविन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागेको हो ।
गत पुसमा सम्पन्न राजनीतिक समितिको बैठकले कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानविन समितिलाई निर्वाचनमा अन्तर्घातको आरोप लागेका केन्द्रीय तहका नेताहरूमाथि छानविन गर्न माघ मसान्तसम्मको समयसीमा दिएको थियो । तर समितिको आग्रहअनुसार समितिको समयसीमा आज फागुन १५ गतेसम्मका लागि थप गरिएको थियो ।
समितिले आफ्नो काम सम्पन्न गरी प्रतिवेदन बुझाउन लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । सप्तरी–२ मा सबैभन्दा बढी अन्तर्घात भएको र त्यहाँ मात्र ३८ जनासँग कार्यदलले सोधपुछ लिएको थियो । सप्तरीका शीर्षनेताहरूले आफ्नै पार्टीका उम्मेदवारलाई हराएको र उहाँहरूसँग लिएको सोधपुछ प्रतिवेदनमा उल्लेख रहेको जनाइएको छ ।