काङ्ग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली, फाइल तस्वीर
काठमाडौं — नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई पत्राचार गर्नुभएको छ । सभापति देउवाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा भोटमाग्दै एमाले अध्यक्ष ओलीलाई पत्रपठाउनु भएको हो ।
आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै ‘पौडेल सालिन, बौद्धिक र सुसंस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व भएको उल्लेख गर्दै एमालेको तर्फबाट भोट हाल्न सभापति देउवाले आग्रह गर्नु भएकोछ ।
अर्को हप्ता हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली काङ्ग्रेसले वरिष्ठ नेता पौडेल र नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएका छन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन तालिका अनुसार आज मङ्गलबार राष्ट्रपतिको उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज अपरान्ह चार बजेसम्ममा उम्मेदवारी फिर्ता लिन पाउने समय तोकिएको छ । चार बजेपछि राष्ट्रपतिको उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।
काङ्ग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई लेख्नुभएको पत्रमा ‘संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको रास्ट्रीय कार्यभार कुशलतापुर्वक सम्पादन गर्दै देशको आर्थिक–सामाजिक रुपान्तरण तर्फ गतिशील ढङ्गले अघिबढ्नु हामी सबैको साझा दायित्व हो । यो दायित्व तपाईं हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य सावित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु’— भनि उल्लेख गरिएको छ ।
काङ्ग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पठाउनु भएको पत्र :
श्री केपी शर्मा ओलिजी,
अध्यक्ष, नेकपा एमाले
बिषयः राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत प्रतिस्पर्धाका लागि
यही फागुन २५ गते हुने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदको निर्वाचनमा यतिबेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्य अनुरुप आ–आफ्ना दृष्टिकोण र उम्मेदवारका साथ खडा छौं ।
लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौं ियो अभ्यासले समाजलाई सु–संस्कृत सन्देश दिन सक्नुपर्छ ित्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु । राष्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु ।
राष्ट्रपति केबल एउटा पद नभएर स्वयम् आफैंमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौं । यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म वृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सु–संस्कृत अभ्यासको खोजी हुन्छ ।
विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छ । यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु ।
सालिन, बौद्धिक र सु–संस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुहुन्छ नै संविधानप्रदत्त संवैधानिक दायित्व राजनीतिक आग्रहहरुभन्दा पर रहेर निभाउन सक्ने सवल व्यक्तित्व हुनुहुन्छ ।
संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक–सामाजिक रुपान्तरणतर्फ गतिशील ढङ्गले अघि बढ्नु हामी सबैको साझा दायित्व हो । यो दायित्व तपाईं, हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु ।
जय नेपाल
शेरबहादुर देउवा
सभापति, नेपाली काङ्ग्रेस
०७९ फागुन १५