फाइल तस्वीर


काठमाडौं — निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगको निर्वाचन कार्यतालिका अनुसार आज फागुन १६ गते मङ्गलबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्न लागको हो ।

आयोगका अनुसार राष्ट्रपति पदको लागि उम्मेदवारी दिएका मध्ये कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले राष्ट्रपति पदमा उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।

राष्ट्रपतिका दुई जना आकाङ्क्षीले मात्रै फागुन १३ गते उम्मेदवारी दर्ता गराएका छन् । यसरी उम्मेदवारी दर्ता गराउनेमा पूर्वसभामुख एवम् एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हुनुहुन्छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि उम्मेदवारी दिनुभएका काङग्रेस नेता पौडेललाई नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रलगायत आठ दलको समर्थन रहेको छ भने एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पक्षमा अहिलेसम्म एमालेबाहेक कुनै दलले समर्थन गरेका छैनन् ।

सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले कसलाई समर्थन गर्ने निर्णय गरिसकेको छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राष्ट्रपति निर्वाचनमा सहभागि नहुने निर्णय गरिसकेको छ ।

राष्ट्रपति निर्वाचनका मतदातामा सङ्घीय संसद्को राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यका साथै सात वटै प्रदेशसभाका गरी कुल सदस्यहरु ८८२ मतदाता रहेका छन् । निर्वाचन काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन हुनेछ । मतदानका लागि दुई वटा मतदान केन्द्रहरु बनाइने छन् । एउटा मतदात केन्द्रमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरुले र अर्को मतदान केन्द्रमा प्रदेशसभाका सदस्यहरुले मतदान गर्ने व्यवस्था मिलाइने निर्वाचन आयोगले जनाएको छ ।