फाइल तस्वीर
काठमाडौं — सत्ता गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सरकारबाट बाहिरिए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु गर्ने हुनुभएको छ । मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा भोलि मङ्गलबारदेखि प्रधानमन्त्रीले नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादीलगायतका दलहरुसँग छलफल सुरुगर्न लाग्नु भएको हो ।
प्रधानमन्त्री दाहालको नेतृत्वमा सरकारमा गएको एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहिर्गमन भएपछि मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा आठ दलीय गठबन्धनका नेताहरुसँग छलफल गर्न लाग्नुभएको बताइएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग घनिभूत छलफल गर्नुभएता पनि एमाले आफ्नो पूर्ववत अडानबाट पछि नहटेपछि पुष १० गते बनेकोे सात दलीय गठबन्धन भत्किन पुगेको हो ।
प्रधानमन्त्री प्रचण्डले आठ दलीय गठबन्धनका नेताहरुसँग मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्दै जाने र राष्ट्रपति निर्वाचन पूर्वनै संसदबाट विश्वासको मत लिनुहुनेछ । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिएपछिमात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिनुहुनेछ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते बिहीबारका दिन हुनेछ ।
आठ दलीय गठबन्धनका कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा शीर्ष नेताहरुको बैठकबाट टुङ्गो लगाउने गरी प्रधानमन्त्रीले भोलिबाट छलफल गर्दै हुनुहुन्छ । सत्ता साझेदार दलका कतिपय नेताहरुले कार्यदल बनाएर मन्त्रालय भागबण्डा टुङ्गो लगाउनुपर्ने बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा माओवादी सहित नेपाली काङगेस, जनता समाजवादी पार्टी नेपाल, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले समेत सरकारमा जान इच्छा देखाएका छन् । एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि यतिबेला प्रधानमन्त्रीले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।
राष्ट्रपति पदको निर्वाचन पहिले संसदबाट विश्वासको मत लिने र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको रणनीति रहेको छ ।