राजीनामा बुझ्नुहुँदै प्रधानमन्त्री प्रचण्ड, तस्वीरः प्रधानमन्त्रीको निजी सचिवालय


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएको छ । आज सोमबार बसेको पार्टी सचिवालयको बैठकको निर्णयअनुरुप सरकारमा सहभागी मन्त्रीहरुले पदबाट राजीनामा दिएसँगै एमाले सरकारबाट बहिर्गमन भएको हो ।

सरकारमा सहभागी एमालेका मन्त्रीहरुले आज सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष संयुक्त रुपमा राजीनामा पत्र बुझाएका हुन् ।

एमालेबाट सरकारमा सहभागी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, रक्षामन्त्री हरि उप्रेती, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषिमन्त्री ज्वालाकुमारी शाह, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी, र भूमिसुधारमन्त्री राजेन्द्रकुमार राईले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । एमालेको सरकारबाट बाहिरिएसँगै सरकार अल्पमतमा परेको छ । यस अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले पनि पदबाट राजीनामा दिएका थिए ।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको काँधमा १६ वटा मन्त्रालयको जिम्मेवारी छ । राष्ट्रपतिको निर्वाचन अघि मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना न्यून देखिन्छ । राष्ट्रपतिको निर्वाचन लगतै नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल लगायतका दलहरु सरकारमा सहभागी हुनेछन् ।