फाइल तस्वीर


काठमाडौं – काठमाडौंको वसन्तपुर अगाडि विधिवत् रूपमा आज बिहान चीर ठड्याइएसँगै फागु पर्व सुरुभएको छ । फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा फागु पर्व सुरु भएको हो ।

आज बिहान पौने आठ बजेको साइतमा वसन्तपुरमा चीर ठड्याइएको हो । एकआपसमा अबिर दलेर फागु पर्व सुरु भएको जनाउ दिने प्रचलन रहिआएको छ ।

चन्द्र मास अन्तर्गत फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली यही फागुन २२ गते काठमाडौं उपत्यकालगायत पहाडी भेगमा र २३ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदै छ ।

आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।