फाइल तस्वीर
काठमाडौं — देशकै मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारभित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद सकिएका र कुहिने अवस्थामा पुगेका खानेकुरा र काँचो तरकारी भेटिएछन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारभित्र रहेको उक्त क्यान्टिनको अनुगमन गर्दा म्याद सकिएका खानेकुरा र कुहिने अवस्थामा पुगेका तरकारी भेटिएका हुन् ।
विभागका अनुसार क्यान्टिनमा खानअयोग्य अवधि सकिएका र म्याद सकिएका मसला तथा दुग्धजन्य पदार्थ भेटिएको विभागको भनाइ छ । विभागले आईतबार केन्द्रीय क्यान्टिनमा आकस्मिक अनुगमन गर्दा उक्त दुर्गन्धित मासु र तरकारीसमेत फेला परेको विभागका बजार निरीक्षण अधिकृत टोलीले जानकारी गराएका छन् । खानका लागि अयोग्य भएका सबै चिजबिज तत्काल नष्ट गरिएको विभागले जनाएको छ।
उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृहका मालिक उत्तम भट्टराईलाई उपभोक्ता हित विपरीत कसुर गरेको भन्दै विभागले ३ लाख जरिवानासमेत गरेको छ । देशकै केन्द्रीय प्रशासन रहेको सिंहदरबार जस्तो सम्वेदनशिल क्षेत्रकै क्यान्टिनमा यस्ता खान अयोग्य भैसकेका चिजविजहरुको व्यापार हुन्छ भने सार्वजनिक स्थलहरुमा सर्वसाधारणले किनेर खानेकुराका साथै होटल तथा रेस्टुरेन्टहरुको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।