फाइल तस्वीर


काठमाडौं — नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ । प्रि–मनसुन सुरु हुनुभन्दा अगाडिको पश्चिमी वायुको गतिविधि सक्रिय छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार पहाडी भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आईतबार काठमाडौं उपत्यका लगायत आसपासका जिल्लाहरुमा मेघगर्जनसहित यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो ।

बेलुकादेखि रोकिएको वर्षा आज सोमबार दिउँसो पुनः सुरु हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीले काठमाडौं उपत्यकामा आज दिउँसो पनि हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए ।

उनका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेकाले आवश्यक सतर्कता अपनाउन र मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

आईतबार दिउँसो पानी परेपछि काठमाडौं उपत्यकामा आज बिहान चिसो महसुस भएको छ । आज न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेकाले अघिल्ला दिनहरुको तुलनामा चिसो महसुस भएको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार आईतबार र शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो ।

हिउँद सुरु भएको लामो समयपछि पानी परेपछि बालीनाली सप्रिने आशले किसानहरु खुसी भएका छन् । तर नेपालमा पूर्वानुमान गरेअनुसार यस वर्षको हिउँद सुक्खा भएको छ । मौसम विज्ञान विभागका अनुसार विगत १७ वर्षयताको तथ्याङ्क हेर्दा ११ हिउँदमा औसतभन्दा कम पानी परेर सुक्खा देखिन्छ ।