कलाकार पल शाह, फाइल तस्वीर
कास्की – उच्च अदालत पोखराले बलात्कारको मुद्दा खेपिरहेका कलाकार पल शाहले सफाई पाएका छन् । बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मुद्दा खेपिरहेका कलाकार शाहलाई उच्च अदालत पोखराले अभियोग दावी नपुगको भन्दै आज आईतबार सफाई दिएको हो ।
उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आज सफाई दिएको अभियुक्त शाहका कानून व्यवसायी कमलामोहन वाग्लेले बताउनुभयो ।
‘अभियोग दाबी नपुग्ने भन्दै अदालतले शाहलाई सफाई दिएको हो ’ अधिवक्ता वाग्लेले भन्नुभयो । अदालतबाट सफाई पाएका कलाकार शाह अब जेलमुक्त हुने बताइएको छ । नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले उच्च अदालतमा रिट दायर गरेका थिए । नवलपुर जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पोखराले शाहलाई सफाई दिने फैसला गरेको हो ।
यसअघि गत माघ ३ गते तनहुँ जिल्ला अदालतले पनि प्रमाण नपुगेको आधारमा कलाकार शाहलाई सफाई दिइएको थियो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गर्दै शाहलाई सफाई दिनुभएको थियो ।
जिल्ला अदालत तनहुँले बलात्कारको कसुरमा शाहलाई सफाइ दिए पनि थुनामुक्त भने गरिएको थिएन । नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र दश लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।
एक नाबालिगमाथि बलात्कार गरेको भन्दै जाहेरी परेपछि अभिनेता पल शाह गत वर्षको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो । जाहेरी परेपछि कलाकार शाह आपैm २०७८ फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियो ।
प्रहरीले कलाकार शाहको बलात्कार मुद्दामा अनुसन्धान पश्चात् २०७८ चैत ८ गते तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएको दुई दिनपछि अदालतको आदेशबाट शाहलाई ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न सकिएन’ भनि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशपछि कलाकार शाहले जेल जीवन बताउँदै आउनुभएको थियो ।