काठमाडौं — परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले स्वीट्जरल्याण्डको भ्रमण गर्ने हुनुभएको छ । मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन परराष्ट्रमन्त्री डा.राई आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्न लाग्नुभएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ स्वीट्जरल्याण्ड जान लाग्नुभएको हो ।
नेपाल परिषद्को सदस्य राष्ट्र हो । सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रीले नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने बताउनुभयो ।
नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका कामका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा अवगत गराउने जनाइएको छ । सो अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता हुने, परिषद्का उच्चायुक्त, आइएलओका महानिर्देशकलगायतसँग समेत भेट हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल परिषद्को सम्मेलनमा सहभागीपश्चात् यही फागुन १९ गते जेनेभाबाट कतारको दोहा प्रस्थान गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा. विमला राई दोहामा अतिकम विकसित मुलुकहरु (एलडिसिज) को पाँचौँ सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । सो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । परराष्ट्रमन्त्री राई आगामी फागुन २३ गते स्वदेश फर्किने बताइएको छ ।