बैतडी — बैतडीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी मृत भेटिएका छन् । दशरथचन्द नगरपालिका–१० खडेनीका जीवन बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा शङ्कास्पद अवस्थामा मृत भेटिएका हुन।

घटनास्थलको मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृतक बुडाल राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा कार्यरत थिए । बझाङ कार्यक्षेत्र रहेका उनी केही दिन अघि विदामा घर आएका थिए ।

शनिबार आफ्ना इष्टमित्र र साथीहरुसंग जाडाबगरमा पिकनिक मनाउन गएका उनी चौलानी नदीमा राति मृत भेटिएका हुन । बुडालसंग पिकनिक मनाउन अन्य ११ जना पनि गएका थिए ।

दशरथचन्द नगरपालिका–६ शेरासम्म गाडीमा गएका उनीहरु त्यहाँबाट हिँडेर जाडाबगड पुगेका थिए । बुडालको नदीमा डुबेर वा अन्य के कारणले मृत्यु भएको हो अझै एकिन भएको छैन ।

उनको मृत्यु शङ्कास्पद रहेको छ । उनी महाकाली तीरसँगै रहेको खडेनीका स्थानीय बासिन्दा हुन । उनी पौडी खेल्न सिपालु थिए । दिउँसो पिकनिक गएका बुडाल हराएको भन्दै उनका साथीहरुले राति करिब ९ बजेतिर मात्रै प्रहरीलाई खबर गरेका थिए ।

‘नदीमा शव भेटिएको छ, अहिले शव पोष्टमार्टमका लागि अस्पताल ल्याउँदैछौँ,’ डीएसपी प्रेम शाहीले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’