फाइल तस्वीर

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछिको पहिलो विदेश भ्रमण कतार हुने भएको छ । प्रधानमन्त्री दाहाल अति कम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जाने हुनुभएको हो ।

आज आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार सो सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्ने बताउनुभएको हो ।

सो विदेश भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले सो सम्मेलनलाई सम्बोधन गर्ने र सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रवक्ता लम्सालले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा अति कम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलन दोहामा हुँदैछ । सम्माननीय प्रधानमन्त्रीज्यू चाहिँ मार्चको ३ तारिकमा काठमाडौँबाट प्रस्थान गरेर दोहाबाट ६ तारिख फर्कने गरी कार्यक्रम तय गरिएको छ । त्यो सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेताको हिसाबले सम्माननीय प्रधानमन्त्रीज्यूले गर्ने तय भएको कार्यक्रमहरू युएनले नै बनाएका केही कार्यक्रमहरू छन् । त्यो प्रोग्राममा प्रोटोकल अनुसारको सम्माननीय प्रधानमन्त्रीज्यूको सहभागिता हामीले सुनिश्चित गरेका छौँ । केही चाहिँ द्विपक्षीय छलफलहरू पनि हुनेछन् । साइड इभेन्टहरू पनि धेरै छन् । त्यसमा पनि भाग लिन्छौँ, र अहिलेसम्मको हिसाबले नेपाली कम्युनिटीसँग पनि एउटा प्रोग्राम गर्ने कार्यक्रम तय भएको छ । यी सबै कुरा पछि हाम्रो प्रेस रिलिजमा पनि आउनेछ । त्यहाँको नेपाली दूतावासमा पनि एउटा कार्यक्रम हुने तय भएको छ ।’

यही फागुन २५ गते नेपालमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिको निर्वाचनबीच पनि प्रधानमन्त्री कतार जाने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री दाहालसँग परराष्ट्र मन्त्रालयका अधिकारी तथा परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल पनि जाने बताइएको छ ।