काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो पार्टीका तर्फबाट राष्ट्रपति निर्वाचनका उम्मेदवार सुवास नेम्वाङलाई सघाउन आग्रह गर्दै नेकपा (एकीकृत समावादी)लाई पत्र पठाएको छ ।


एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै एमालेका उम्मेदवार सुवास नेम्वाङलाई राष्ट्रपति निर्वाचनमा मतदान गर्न आग्रह गर्दै पत्र पठाउनुभएको हो ।

राष्ट्रपतिको निर्वाचनमा मतदाताका रुपमा रहेका एकीकृत समाजवादीका प्रतिनिधिसभा सदस्य प्रदेशसभा सदस्यहरुलाई एमालेको उम्मेदवारलाई मतदान गरी सघाउन ओलीको अनुरोध छ ।

ओलीले पठाएको पत्रमा उल्लेख छ,–‘राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट माननीय सुवासचन्द्र नेम्वाङको पक्षमा मनदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध छ ।’