काठमाडौं — नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ । आज शनिबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको बताउनुभएको हो ।

उम्मेदवार रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफूलाई राष्ट्रपति निर्वाचनमा सघाउने विश्वास लिनुभएको छ । उहाँले राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने बताउनुभयो । पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्म् बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

पौडेलले भन्नुभयो, ‘मैले अपेक्षा गरेको हो सर्वसम्मत हुन्। सम्भवत् त्यो पनि चुनावको दिनसम्म हुन्छ की। त्यसमा म कोसिस गर्दैछु । एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय’ उहाँले भन्नुभयो, ‘पुरानो साथी हो । उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई उहाँले योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु ।’

उहाँले राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन कोसिस गर्ने बताउनुभयो ।