काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरुले राजीनामा बुझाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।

आज शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।


आजै बिहान बसेको राप्रपाको कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । उनीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन्।