काठमाडौं — राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । मुलकको तेस्रो राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुने भएको हो ।

निर्वाचन आयोगले अहिले बिहान १० बजेदेखि दिउँसो ३ बजेभित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ ।

हिजो शुक्रबार साँझ आठ दलबीच भएको सहमति अनुसार नेपाली काङ्ग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति भए पनि उम्मेदवार भने अझै चयन भएको छैन । राष्ट्रपतिको उम्मेदवार बन्न पाँच/पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।