फाइल तस्वीर

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाली काङ्ग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालको प्रस्तावमा काङ्ग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने निर्णयसँगै दाहालले सो टिप्पणी गर्नुभएको हो ।

नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले बैठकपछि भन्नुभयो, ‘प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरु भएको छ । हामीले जनताको चाहना अनुसार अघि बढौँ भन्नुभयो । हामी सत्ता समीकरणको बेलामा थप छलफल गरेर जाऊँ भनेर अपिल गर्नुभयो ।’

उहाँका अनुसार काङ्ग्रेसलाई समर्थन जनाउने भनिए पनि उम्मेदवारको बारेमा भने कुनै निर्णय भएको छैन । तर माओवादी केन्द्रसहितका दलको समर्थन पाएपछि राष्ट्रपतिको चुनावमा काङ्ग्रेसको जित पक्का जस्तै भएको छ ।

सङ्घीय र प्रदेशसभाका सांसदको मतदानबाट राष्ट्रपति हुन कुल ५२ हजार ६ सय २८ मत भारमा ५० प्रतिशत बढी अर्थात २६ हजार ३ सय १५ मतभार पु¥याउनु पर्दछ ।

नेपाली काङ्ग्रेससँग १६ हजार १ सय ४२ मत, माओवादीसँग ७ हजार ७ सय ४५ मत, एकीकृत समाजवादीसँग २ हजार ५ सय ७४ मत, जसपासँग २ हजार १ सय ४५ मतभार छ । जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा पनि थपिएकाले २५ फागुनमा हुने निर्वाचनको नतिजाप्रति काङ्ग्रेस ढुक्क छ । उसले राष्ट्रपति पाउने र सर्वसम्मत हुने निश्चित प्रायः भएको छ ।