काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको दुई घण्टा लामो छलफल बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई शीर्ष नेताबीचको छलफलले राष्ट्रपतिको उम्मेदवारबारे निष्कर्ष निकाल्न नसकेपछि ओली बालुवाटारबाट निस्किनुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच करिव २ घण्टा छलफल भएपनि राष्ट्रपतिका विषयमा के कस्तो समझदारी भयो भन्ने विषय बाहिर सार्वजनिक भएको छैन । ओली बालुवाटारबाट निस्किएलगत्तै चुनाव अघिको पुरानै पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु छलफल गर्न बालुवाटार जाने भएका छन् । राष्ट्रपतिका साझा उम्मेदवार तय गर्न पुराना गठबन्धनका नेताहरु बसेर फाइनल गर्ने बताएका छन् ।
प्रचण्डले पुरानै गठबन्धन ब्युँताउने तयारी गरेपछि ओली प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको हो । आज बिहान बसेको पुरानो गठबन्धनको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको बिषय सहमति नजिक पुगेको भनिएको छ । पुरानो गठबन्धनको बैठक अहिले साँझ बालुवाटारमा बस्दै छ । सो बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउनेछ ।