काठमाडौं — सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपति चयनका लागि दलहरूबीच भइरहेको छलफलप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । उपमहासचिव शर्माले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी जस्तो गरेर छलफल अघि बढाउनु दुःखद भएको समेत बताउनुभयो । आज शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान समेत राख्नुभयो ।
जनताले तानातानका लागि नभइ सहकार्यका साथ मुलुकलाई अघि बढाउने गरी मत दिएको उल्लेख गर्दै उहाँले सोही मतको सम्मान गर्दै सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने काममा एकताबद्ध हुन सरकार, सबै राजनीतिक दल र सांसदहरूलाई आग्रह समेत गर्नुभयो ।
उपमहासचिव शर्माले राजनीतिक दलहरुले राष्ट्रिय सहमतीका साथ उत्पादन वृद्धि, रोजगारीको अवसर सृजना गरी मुलुकलाई समृद्ध बनाउने महाअभियानमा जुट्नुपर्ने पनि बताउनुभयो ।