काठमाडौं — राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बालुवाटारमा बसेको चुनावअघिको पाँच दलीय गठबन्धनमा सम्बद्ध चार दलको बैठक सकिएको छ । आज बिहान साढे ८ बजेबाट प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा सुरु भएको बैठक मध्यान्ह साढे १२ बजे सकिएको हो ।
बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बेलुका पाँच बजे फेरि बस्ने गरी टुङ्ग्याइएको हो । बैठकले कुनै निष्कर्ष निकालिनसकेको तर सकारात्मक उन्मुख भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
बैठकमा काङ्ग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी हुनुहुन्थ्यो । यस्तै माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता घनश्याम भुसाल सहभागी हुनुहुन्थ्यो । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ छलफलमा सहभागी हुनुहुन्थ्यो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काङ्ग्रेस महामन्त्री गगनकुमार थापाले विभिन्न विकल्पबारे छलफल भएको बताउनुभयो । उहाँले आ–आफ्नो दलमा छलफल गरेर बेलुका ५ बजे फेरि बैठक बस्ने भन्दै ‘हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौं’–भन्नुभयो ।