आईसिसी विश्वकप लिगका विजेता खेलाडीसँग प्रधानमन्त्री ‘प्रचण्ड’ । तस्वीर: प्रधानमन्त्रीको निजी सचिवालय
काठमाडौं — आईसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई सरकारले प्रतिव्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर बधाई दिनुका साथै उक्त धनराशीको पुरस्कार दिने घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले खेलाडीहरूलाई बधाई दिनुहुँदै ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाई छ । तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो’— भन्नुभयो ।
‘तपाईको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ । म सबै नेपालीहरूको तर्फबाट तपाईहरूलाई हार्दिक बधाई दिनचाहन्छु । तपाईहरूलाई फेरि पनि सफलता मिलोस् । आउने प्रतिस्पर्धाका लागि शुभकामना छ’ प्रधानमन्त्रीले क्रिकेट खेलाडीहरुलाई बधाई दिंदै उत्साही गराउनु भयो ।
सो अवसरमा प्रधानमन्त्रीले खेलाडीहरुसँग ‘तपाईहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडीलाई दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्दछु’ — भन्नुभयो ।
प्रधानमन्त्रीले विगतमा खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, तर अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कुटनीतिक उचाइका लागि पनि भएको छ । तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जाने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले आफु सरकारमा हुँदा होस् वा नहुँदा होस्, म सधैँ तपाईहरूको साथमा छु भन्नुहँुदै खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको छु । छोटो समयमै नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ, त्यसले मलाई पनि राजनीतिमा प्रेरणा दिँदै आएको बताउनुभयो ।
सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिनुहुँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।