फाइल तस्वीर
झापा — मदन भण्डारी राजमार्गमा चारवटा पूल निर्माण सम्पन्न भएको छ । कुल ३५ वटा पुलमध्ये अहिले चार वटामात्रै निर्माण सम्पन्न भएको हो ।

मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर सजित शर्माका अनुसार सो सडकमा पर्ने पुलमध्ये सदम, मुरङ्गी, डाले र मुगु खोलामा पक्की पुल निर्माण भइसकेको बताउनुभयो । निर्माण भएका सबै पुल मोरङ जिल्लाभित्र पर्ने उहाँले जानकारी दिनुभयो । अन्य बाँकी पुलको काम ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।

आयोजना कार्यालयका इञ्जिनीयर शर्माका अनुसार झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडकमा पर्ने पुलको हालसम्मको भौतिक प्रगति ७८ प्रतिशत भएको छ । उहाँले झापा सडकखण्डमा पर्ने १० वटा पुलको समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

“सबै पुलको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ”, उहाँले भन्नुभयो, “यही रफ्तारमा काम हुँदा तोकिएको समयमै सकिन्छ ।” उहाँले अधिकांश पुलको निर्माण ८० देखि ९० प्रतिशतसम्म भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार टाइटिङ, गोयाङ, विरिङ, दामा खोलालगायतको पुलको काम ९० प्रतिशत पूरा भइसकेको छ ।

निर्माणधीन पुलको लम्बाई २० मिटरदेखि चार सय मिटरसम्मका रहेको उहाँले बताउनुभयो । १० अर्ब १३ करोडका लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको इञ्जिनीयर शर्माको भनाइ छ ।