काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको लागि धेरै विकल्प भएको बताउँदै देशको हित र संविधानको रक्षा हुने विकल्प रोज्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज बिहीबार सिंहदरबारमा भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले कसले कुन पद पाउनेभन्दा पनि देश र संविधानको रक्षा हुने विकल्प रोज्नुपर्ने बताउनुभयो । ‘हामीबीच विभिन्न खालका विकल्प छन् । ती मध्ये सबैभन्दा उपयुक्त विकल्प कुन हुन्छ भनेर हामीले छलफल गरिरहेका छौँ,’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो,’कसले कुन पद पाउने भन्ने कुरा ठूलो होइन्, देशको हित र संविधानको रक्षा हुने विकल्प हामीले रोज्नुपर्छ ।’