फाइल तस्वीर
काठमाडौं —राष्ट्रपति निर्वाचनले सात दलीय सत्तागठबन्धनमा धाँजा फाट्ने निश्चित प्रायः छ । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन पछि गत पुस १० गते बनेको सात दलीय गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटबाट यस्तो सङ्केत गर्नुभएको हो ।
आफ्नो ७२ औं जन्मदिनको अवसरमा आज बिहीबार भक्तपुरको बालकोटमा आयोजित ‘विश्व शान्ति प्रार्थना’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालभित्र आन्तरिक द्वन्द्व र आन्तरिक कलह अब नेपाली जनतालाई स्वीकार्य नहुने बताउनुभएको छ ।
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले ‘अब हामीलाई कुनै किसिमको कलह चाहिएको छैन । हामी हाम्रो देशको समस्या समाधान गर्न सक्षम छौँ’ भन्नुभयो । अध्यक्ष ओलीले आज संसारका केही मुलुकहरुबाहेक अन्यत्र नेपालको जस्तै स्वतन्त्रता रहेको बताउँदै यसलाई सानो उपलब्धी भन्न नहुने उल्लेख गर्नुभयो ।
सात दलीय गठबन्धनमा दरार पैदाभएपछि अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रप्रति इङ्कित गर्दै दशवर्षे जनयुद्धलाई हिंसा दिवसको सङ्ज्ञा दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले त्यसलाई राष्ट्रिय दिवसको रुपमा मनाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । राष्ट्रपति निर्वाचनको किचलोले सत्तागठबन्धन टुट्ने भएपछि एमाले अध्यक्ष अब नेकपा माओवादी केन्द्रप्रति आक्रामक बन्न थाल्नुभएको छ ।
पुस्तक विमोचनको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले ‘नेपाल जस्तो शान्तिप्रिय भनिएको देशमा हिंसा भयो । हिंसाको श्रृङ्खला टुङ्गिएका थिए, तर अझै हिंसाको धङधङी रहेछ’ भनेर माओवादी केन्द्रप्रति आक्रोश व्यक्तगर्न थाल्नुभएको छ । सत्ता साझेदार बन्दा दैनिक रुपमा भेटवार्ता गर्ने र प्रधानमन्त्रीको प्रशंसा गर्नुहुने एमाले अध्यक्ष ओली राष्ट्रपति निर्वाचनमा समीकरण परिवर्तन हुने भएपछि प्रधानमन्त्री प्रचण्डप्रति आक्रोशित बन्न थाल्नुभएको देखिन्छ ।
सोही अवसरमा बोल्दै अध्यक्ष ओलीले ’हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो । हिंसा दिवसलाई क्यालेन्डरमै राख्ने काम भयो । त्यसले अझै हिंसालाई मलजल गर्ने काम भयो’ भनेर कटाक्ष गर्नुभयो ।
एमालेसमेत साझेदार रहेको प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को बैठकले गरेको उक्त निर्णयप्रति ११ औं दिनपछि आपत्ति जनाउँदा राष्ट्रपति एमालेले नपाउने भएपछि यस्तो अभिव्यक्ति दिन थाल्नु कति उपयुक्त होला ?