काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ । राष्ट्रपति निर्वाचनको विषय र सत्ता गठबन्धनको विषयलाई लिएर दुई पार्टीका र्शीष नेताबीच सिंहदरबारमा वार्ता भएको सुरु भएको हो ।
सिंहदरबारमा भएको वार्तामा अन्य शीर्ष नेताहरू पनि सहभागी भएको जनाइएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि गठबन्धन मिलाउन राजनीतिक दल र त्यसका शीर्ष नेताहरूबीच तीव्रगतिमा वार्ता र छलफल चलिरहेको छ ।
राष्ट्रपतिको निर्वाचनका लागि सत्तागठबन्धनको तर्फबाट एमालेका उम्मेदवार उठाउने गरी पुष १० गते एमाले र माओवादी केन्द्रसहित सत्तागठबन्धन दलहरुबीच सहमति भएको थियो । तर प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको उम्मेदवार चुन्नुपर्ने बताउँदै आउनुभएको छ भने एमालेले आफ्नो उम्मेदवारलाई समर्थन गर्नुपर्ने बताइरहेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई राष्ट्रपति दिन प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्ड तयार नदेखिएपछि समाजवादी अध्यक्ष नेपाललाई राष्ट्रपति बन्न अनुरोध गरिएको सार्वजनिक भएसँग राजनीतिले नयाँ मोड लिएको छ । तर एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने बाहिर आए जस्तो नभएको बताउनु भएको छ ।
राष्ट्रपतिकै विषयलाई लिएर एमाले र माओवादी केन्द्रबीच किचलो उत्पन्न भएसँगै हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुरदेउवाबीच छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति नेपाली काङग्रेसलाई दिन सकारात्मक देखिएपछि सत्तागठबन्धन नयाँसिराबाट अघिबढ्ने सम्भावना बढ्दो छ । निर्वाचनको मितिसम्म सत्तागठबन्धन कायम रहने एमाले उपमहासचिव विष्णु रिमालले बताउनुभएको छ ।
यता प्रधानमन्त्री प्रचण्ड र काङ्ग्रेसका सभापति देउवाबीच निर्वाचन अघिको पाँच दलीयगठबन्धन ब्यूँताउन औपचारिक रुपमा सहमत भएको र तात्कालीन पाँच दलका अन्य घटकहरुसँग छलफल गरेर अगाडि बढ्ने बताएको छ । पूरानो गठबन्धन ब्यूँताउने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताइएको छ ।