काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताउनुभएको छ । आज बुधबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले पछिल्लो समय भएको भेटघाटबारे अध्यक्ष माधवकुमार नेपालले रिपोर्टिङ गरेको तर राष्ट्रपतिको प्रस्ताव आएको बारे केही नबोलेको बताउनुभएको हो ।

‘अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा, भेटघाटको सन्दर्भमा रिपोर्ट गर्नुभयो, तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्ने चाहिँ, त्यस्तो रिपोर्टिङ भएन’ सम्मानित नेता खनालले भन्नुभयो, ‘त्यसको अर्थ अहिलेसम्म हाम्रो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आएको भन्ने जुन हल्ला छ नि त्यो हल्लामात्र रहेछ भन्नुप¥यो । राष्ट्रपति निर्वाचन अहिलेको सन्दर्भमा देशका लागि महत्वपूर्ण एजेण्डा हो, यसमा सरोकार हाम्रो पार्टीले राख्छ । हामी सबैले यसबारेमा कुरा गर्छौं ।’

उहाँले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताउँदै राष्ट्रपति निर्वाचन देशका लागि महत्वपूर्ण एजेण्डा भएको उल्लेख गर्दै आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताउनुभयो ।

त्यस्तै एसका प्रचार विभाग प्रमुख उपमहासचिव जगन्नाथ खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले प्रतिगामी हर्कतहरु बढीरहेको सन्दर्भलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरुसँग छलफल अघि बढाउन बैठकमा निर्णय भएको बताउनुभयो । प्रचार विभाग प्रमुख खतिवडाले पनि राष्ट्रपतिका बारेमा आफ्नो पार्टीलाई कुनै पनि व्यक्ति र पार्टीले प्रस्ताव नगरेको जिकिर गर्नुभयो ।