काठमाडौं – प्रहरी नायव महानिरीक्षक डिआइजी अशोक सिंहले राजीनामा दिनुभएको छ । उहाँले आज बुधबार प्रहरी प्रधान कार्यालयमा पुगेर राजीनामा बुझाउनुभएको हो ।
राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेट्नुभएको थियो । कानुनी परामर्शसमेत गर्नुभएको उहाँलाई कानुनविद्ले मुद्दा मामिलामा लाग्नुभन्दा राजीनामा दिनु उचित हुने राय दिएपछि यो निर्णय लिनुभएको हो ।
सिंहको जन्ममिति फरक फरक रहेको लगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन अघि बढिसकेको छ । डिआइजी सिंहविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र देखाई जागिर खाएको भन्दै फागुन ३ गते अख्तियारमा उजुरी परेको थियो।
सिंह नयाँ प्रहरी प्रमुखको दाबेदार हुनुहुन्छ । सिंहले राजीनामा दिएपछि भावी आइजिपीको दौडमा डिआइजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् ।