काठमाडौं — निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो ।

सङ्घीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद्का एक सदस्य बराबर ७९ र प्रदेशसभाका एक सदस्य बराबर ४८ मतभार रहेको छ ।

प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म तोकिएको छ । सो समयमा पर्न आएका निवेदन तथा उजुरीउपर फागुन १२ गते दिउँसो ३ बजेसम्म छानबिन गरी अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ ।

राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता हुनेछ भने २५ गते मतदान निर्वाचन हुँदैछ ।