काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
सत्तारुढ दलहरुबीच राष्ट्रपति चयनको बिषय पेचिलो भन्दै गइरहेकाबखत उहाँहरुबीच निरन्तर भेटघाट भै रहेको छ । राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने अडान राख्दै आउनुभएका प्रधानमन्त्रीसंग एमाले अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचनबारे छलफल गर्नुभएको हो ।
पुस १० गते माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने बेला राष्ट्रपति एमालेलाई दिने सहमति भएको दाबी एमालेका नेताहरुले गर्दै आएका छन् । एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने माग राखे पनि प्रचण्ड माओवादी केन्द्र सहमत देखिएको छैन ।
माओवादी नेताहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस समेत छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति जुटाउन आग्रह गर्दै लोसपाका नेताहरुले आज काङ्ग्रेस सभापति देउवासँग छलफलसमेत गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउने प्रयासमा लागेका छन् ।