काठमाडौं — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न मागसहितका १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । आज बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर शिक्षा क्षेत्रका विभिन्न समस्याको विषयमा अखिल क्रान्तिकारीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

सो ज्ञापन पत्रमा शिक्षा क्षेत्र तहसनहस भएको भन्दै सरकारी तवरबाट ठोस पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ । शिक्षाको निजीकरणको अन्त्य, निशुल्क तथा अनिवार्य शिक्षाको कार्यान्वयन, जनयुद्धका शहीद परिवारका छात्रवृत्तिका समस्या, विश्वविद्यालयमा भएको चरम भागभण्डा, आइओएमका विद्यार्थीका समस्या, विदेशी सम्बन्धन प्राप्त कलेजमा विद्यार्थी भर्ना संख्याको समस्या, सङ्घीय शिक्षा ऐनलगायत अन्य समसामयिक विषयमा अखिल (क्रान्तिकारी) ले ज्ञापनपत्र बुझाएको हो ।


राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षा क्षेत्रलाई छुट्टाउन, सङ्घीय शिक्षा ऐन तत्काल लागु गर्न र विश्वविद्यालयमा राजनीतिक भागवण्डा बन्द गर्न सो सङ्गठनले सरकारसमक्ष माग गरेको छ ।