काठमाडौं — वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित ईसा अवार्ड प्राप्त गर्नुभएको छ । मानवताका लागि सेवा गरेको भन्दै बहराइनका नरेश हमाद बिन इशा अल खलिफाले डा. रुइतलाई १० लाख अमेरिकी डलर अर्थात् १३ करोड नेपाली रुपैयाँभन्दा बढीसहित सम्मान गर्नुभएको हो ।
बहराइनको राजधानी मनामास्थित इसा साँस्कृतिक केन्द्रमा आयोजित एक समारोहमाझ डा. रुइतलाई अवार्ड प्रदान गरिएको हो । समारोहमा बहराइनका नरेश अल खलिफाले डा. रुइतले गरेका मानवीय कार्य उदाहरणीय रहेको बताउनुभयो ।
समारोहमा डा. रुइतले आफूले प्राप्त गरेको अवार्ड आफ्ना लाखौँ बिरामी, उनीहरुका परिवार, आफ्नो टिम र सारा नेपाली जनताप्रति समर्पित रहेको बताउनुभयो ।