फाइल तस्वीर
काठमाडौं — संसदले विजनेश नपाउँदा हिउँदे अधिवेशन शून्य र विशेष समयमा सीमित भएको छ । संसद्लाई सरकारले दिनुपर्ने विजनेश दिन नसक्दा यस्तो संसद् निकम्मा जस्तो देखिएको हो ।
केही साता अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँगको भेटघाटका क्रममा चालु हिउँदे अधिवेशनमा सरकारले २० वटा जति विधेयक ल्याएर विजनेश दिने प्रतिबद्धता जनाउनु भएको थियो । विजनेश नपाएका कारण संसद्ले बारम्बार राम्रोसँग काम गर्न नसकेको गुनासो सांसदहरुले गर्दै आएका छन् । वर्तमान संसद् प्राविधिक कुराहरुमा अल्झिँदा संसदीय अन्य गतिविधिहरु हुन सकेका छैनन् ।
अघिल्लो प्रतिनिधिसभापछि निष्क्रिय भएका विधेयकहरुलाई पुनः दर्ता गर्नेगरी सरकारले हालसम्म कुनैपनि विधेयक नल्याएको संसद् सचिवालयको भनाइ छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अघिल्लो प्रतिनिधिसभाको कार्यकाल सकिएपछि २७ वटा विधेयक निष्क्रिय भएका मध्ये सम्पति शुद्धीकरण मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक मात्र दर्ता भएको र अन्य कुनैपनि विधेयकहरु संसद् सचिवालयमा दर्ता भएको छैन ।
सरकारले संसदलाई विजनेश दिने भएकाले सरकारले दर्ता गरेको अवस्थामा विधेयकहरु सचिवालयमा आएर रोकिने अवस्था नरहेको स्पष्ट प्रवक्ता गिरीले बताउनु भयो । प्रवक्ता गिरीका अनुसार हालसम्म प्रतिनिधिसभामा चार वटा र राष्ट्रियसभामा ९ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् ।
प्रतिनिधिसभामा सम्पति शुद्धीकरण मनि लाउण्डरिङ निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकका साथै राष्ट्रियसभाबाट प्रतिनिधिसभामा सन्देशसहित तीन वटा विधेयक रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा अन्तर्गत रहेको ससदीय समितिहरु अहिलेसम्म पनि बन्न नसक्नुले संसद्को गरिमा, औचित्य, जिम्मेवारी पूरा गर्ने काममा समस्या आएको सांसद्हरुको भनाइ छ ।