प्रतिकात्मक तस्वीर
दाङ – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमर नेपालले राष्ट्रपति निर्वाचनलाई ‘पावर सेयरिङ्ग’ को रूपमा लिने सङ्केत गर्नुभएको छ । दाङको भालुबाङ पुग्नु भएको एसका अध्यक्ष नेपालले सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिंदै ‘पावर सेयरिङ्ग’ को रूपमा लिने सङ्केत गर्नुभएको हो ।

नेता नेपालले आफूलाई कहिं कतैबाट पनि राष्ट्रपति बन्ने ठोस प्रस्ताव नआएको भन्नुहुँदै आफू के बन्ने भन्ने बारेमा त्यस्तो केही सोचिनसकेको उल्लेख गर्नुभयो ।

‘राष्ट्रपतिका विषयमा अहिले बजारमा हल्लाहरू विभिन्न किसिमले चलेका छन् । राष्ट्रपतिका आकाङ्क्षीहरु पनि धेरै छन्’ भन्नुहुँदै अध्यक्ष नेपालले ‘हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन । तर, पार्टीको धारणा के छ भन्दाखेरी पावर सेयरिङ्गमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ’ — भन्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले पावर सेयरिङ्गमा भूमिका नहुने र अरुकै लागि सधै बलिदान हुने, अरूले फाइदा उठाउने कुरा आफ्नालागि पनि मान्य नहुने बताउनुभयो ।

अध्यक्ष नेपालले राष्ट्रपतिको लागि बृहत छलफलको आवश्यकता रहेको बताउनुहुँदै एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेको समाचारहरू सार्वजनिक भएपनि नेपालले कतिपय कुराहरूलाई पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने उल्लेख गर्नुभयो ।

‘मिडियामा आएका सबै समाचारहरू साँचो हुन्छन् भन्ने छैन । यस विषयमा अहिलेनै बोल्न अलि हतार हुन्छ भन्नुहुँदै अध्यक्ष नेपालले हतार नगरिकन पर्दाभित्रनै रहन दिनुपर्छ’ — भन्नुभयो ।

पार्टीको ध्यान देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । संविधानलाई जोगाउने कुरामा राजनीतिक दलहरु अत्यन्तै चनाखो हुनुपर्ने अवस्था छ । देशलाई समाजवादको दिशातर्फ लग्न हामीले ध्यान दिएका छौं अध्यक्ष नेपालको भनाइ थियो ।

अध्यक्ष नेपालले अघिल्लो गठबन्धनका बेला मङ्सिर ४ गतेको निर्वाचन अघि राष्ट्रपतिका लागि झलनाथ खनालको नाममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएको दावी गर्नुहुँदै तर, सम्मानित नेता झलनाथ खनाल निर्वाचनमा पराजय भएपछि राष्ट्रपति को बन्ने भन्ने विषयमा ठोस निर्णय नभएको उल्लेख गर्नुभयो ।

एमालेले पार्टी एकता गर्ने शर्तमा माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारको ग्रिनसिङ्गल दिएको छ । एमालेले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालसँग पार्टी एकता गरेर प्रतिनिधिसभामा ठूलो दल भन्ने आकाङ्क्षा समेत राखेको राजनीतिवृत्तमा चर्चा हुन थालेको छ ।

त्यसो त नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीबीच पनि पार्टी एकताको कुरा चलिरहेको छ । राष्ट्रपति निर्वाचनले नेपाली राजनीतिकलाई नयाँ शिरातिर धकेल्न सक्ने विश्लेषण गर्न थालिएको छ ।