काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वैज्ञानिक महावीर पुनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र पुनबीच आज मङ्गलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास बिना नेपालको विकास सम्भव नभएको बताउनुभयो । उहाँले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा वैज्ञानिक पुनसँगको भेटमा विज्ञान र प्रविधिको विकासमा जोड दिन सरकारले पनि थप पहल गर्ने आश्वास दिनुभएको छ ।

‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाई नेपालको विकास हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ’नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन ।’ वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उहाँले जोड दिनुभयो । ‘अहिलेको युग नै विज्ञान र प्रविधिको युग हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन,’ प्रधानमन्त्रीले भन्नुभयो ।

विज्ञान र प्रविधिको क्षेत्रमा देखा परेका अवसर र चुनौतीलाई राज्यले ध्यान दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अहिले विद्यमान ऐन कानुन निर्माण र कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुबीच आज बिहान भएको भेटमा आविष्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको छ ।