फाइल तस्वीर


काठमाडौं —त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा केही समय अघि ‘सर्भर डाउन’ हुँदा प्रभावित भएको आन्तरिक तथा बाह्य हवाई उडान सञ्चालनमा आएको छ । विमानस्थल कार्यालयका अनुसार सर्भरले काम गर्न थालेपछि आन्तरिक तथा बाह्य उडानहरु नियमित रुपमा सञ्चालनमा आएको जनाएको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथका अनुसार सवाघण्टा अवरुद्ध भएको उडान सेवा अहिले नियमित सञ्चालन भइरहेको छ । अध्यागमनको सर्भर डाउन हुँदा करिब सवाघण्टा सबै उडानहरु अवरुद्ध हुन पुगेका थिए ।

अन्तर्राष्ट्रिय उडानका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो । उडान अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए । यसअघि पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ ।