फाइल तस्वीर


काठडमाडौं — नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हवाई कम्पनी गुण एयरलाइन्सको उडान बन्द गर्न निर्देशन दिएको छ । उक्त एयरलाइन्सले पाइटल र क्रुहरुलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्नसक्ने हुँदा अर्को व्यवस्था नभएसम्म गुण एयरलाइन्सका सम्पूर्ण उडान बन्दगर्न प्राधिकरणले निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएअनुसार अर्को व्यवस्था नभएसम्म उक्त एयरलाइन्सका सबै उडान बन्दगरी जहाजलाई ग्राउन्डेड गर्न सोमबार नै पत्र पठाइएको छ । ‘उडानमा संलग्न कर्मचारीलाई तलब सुविधा नदिएपछि उडान सुरक्षामा जोखिम देखिएको भन्दै प्रवक्ता निरौलाल ‘जोखिमलाई मध्यनजर गरेर अर्को व्यवस्था नभएसम्म सबै उडान बन्द गर्नु भनेर पत्र काटेका छौं’– भन्नुभयो ।

गुण एयरलाइन्सले तलब नदिएपछि गत बुधबारदेखि सबै उडानहरु बन्दहुँदै आएका छन् । यसअघि उक्त कम्पनीले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट मगाएको र पाइटहरु पनि तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो । यद्यपी हिजो (आइतबार) देखि नियमित उडान गर्ने जनाएको एयरलाइन्सले एयर क्रुहरुलाई तलब नदिएको कारण प्राधिकरणले उक्त एयरलाइन्सका सबै उडान बन्द गर्न पत्रद्वारा निर्देशन दिएको छ ।

उक्त एयरलाइन्सले के कति कारणले उडानहरु रोकेको भन्ने विषयमा अनुसन्धान गर्दा एयर क्रुहरुको तलब नदिएको पाइएकोले प्राधिकरणले गुणका सबै उडानहरु बन्द गराएको छ ।

गुण एयरलाइन्ससँग यतिबेला तीन वटा जहाज सञ्चालनमा रहेका थिए । यी जहाजले तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा उडान गर्दै आइरहेका थिए । एयर क्रुको तलब नदिए पछि उक्त एयरलाइन्स बन्द हुने अवस्थामा पुगेको छ ।