फाइल तस्वीर
काठमाडौं — जनता समाजवादी पार्टी नेपालले आगामी चैतमा विधान अधिवेशन गर्ने भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आईतबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले चैत अन्तिम साता विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।
जसपाले चैत २७ देखि २९ गते तीन दिनसम्म विधान अधिवेशन गर्ने निर्णय गर्दै कार्यकारिणी समितिको बैठकमा देशको पछिल्लो बदलिदो राजनीतिक अवस्था, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, पार्टी एकता र पार्टीको विधान अधिवेशनका विषय जस्ता एजेण्डमा छलफल गरेको बताइएको छ ।
कार्यकारिणी सदस्य रामसहाय यादवका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठित विधान संशोधन मस्यौदा समितिले काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्नेे छ ।
हिजो बसेको कार्यकारिणी समितिको बैठकमा फागुन २५ गते बिहीबार हुने राष्ट्रपतिको निर्वाचनको विषयमा पनि छलफल भएको थियो । जसपा पनि राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति बनाउनु पर्छ भन्ने पक्षमा उभिएको छ । उक्त बैठकमा राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने र सोही लाइनमा जसपा पनि जाने कुरामा छलफल भएको बताइएको छ ।
जसपाले नेकपा एकीकृत समाजवादीलगायत अन्य दलहरूसँग पनि पार्टी एकताका लागि छलफल गरिरहेको जनाएको छ । उक्त पार्टीले नेकपा माओवादी केन्द्रसँग पनि पार्टी एकता गरेर अघि बढ्ने बारेमा यसअघि छलफल चलाएको थियो ।