फाइल तस्वीर

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्दै आएको सो पार्टीले आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइ सो विषयमा छलफल सुरु गरेको हो ।

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभए पनि त्यस सम्बन्धमा बैठकमा छलफल गरिएको पार्टीका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिनुभयो । बैठकमा पार्टीको विधान अधिवेधनको तयारीका विषयमा पनि छलफल गरिएको थियो । विधान अधिवेशन र त्यसको समयतालिकासहितको विषयमा बैठकमा छलफल गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको आजको बैठकमा मुख्यतया पार्टीको विधान अधिवेशन र त्यसको समयहरुको सवाल र समसामयिक राजनीतिका विषयमा छलफल भयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पार्टीको ध्यानाकर्षण भएको छ । पार्टीले यसमा सोचिराखेको छ । त्यसबारेमा अहिले औपचारिक निर्णय भइसकेको छैन । किनभने कुनै पिक्चर क्लिएर भइसकेको छैन । कुनै पनि उम्मेदवारहरुको बारेमा टुङ्गो पनि लागि सकेको छैन । यसमा पार्टीले भर्खरै केही छलफल गर्नुपर्छ भन्ने पक्षमा छैन । छलफल सबै राजनीतिक दलहरुसँग जारी छ । त्यस अवस्थामा पछि पार्टीले निर्णय गर्छ ।’

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी, नेपालले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।