काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समीकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको बताउँदै आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गर्ने दाबी गर्नुभएको छ ।
विराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आगामी फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने बताउँदै भन्नुभयो, ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ । अहिलेको समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखेर आएको छ उति बेलै ।’
माओवादी नेता जनार्दन शर्माले त सहमति भएको थाहा छैन भन्नु भएको छ नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा ओलीले भन्नुभयो, ‘सबैसँग त कहाँ सहमति हुन्छ र माओवादी कार्यकर्ता सबैसँग सहमति गदै हिँडेर हुन्छ त ?’ राष्ट्रपतिमा सबैको सहमति हुनु पर्छ भन्ने आवाज पनि उठेको छ नि भन्ने सञ्चारकर्मीहरुको अर्को प्रश्नको उत्तरमा ओलीले भन्नुभएको छ, ‘सही कुरा हो, हामीले उम्मेदवार उठाउँछौं, सबैको सहमति हुनुपर्छ ।’
अहिलेको समीकरण सोच विचार गरेर नै बनाएको भन्दै ओलीले एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले एमालेले उठाउने उम्मेदवारको नाम आफूले १३ गते सार्वजनिक गर्ने पनि बताउनुभयो । नयाँ राष्ट्रपतिको उम्मेदवारी मनोनयनका लागि १३ गतेको समय तोकिएको छ । अध्यक्ष ओलीले भन्नसभयो, ‘राष्ट्रपति को हुन्छ पहिले नै तय भएको छ । अहिलेको समीकरण जन्मँदा त्यसको जन्मकुण्डलीमा नै लेखेर आएको छ ।
अहिले राष्ट्रपति पदका लागि अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, ईश्वर पोखरेललगायत विभिन्न नामहरूमाथि भइरहेको चर्चा बारे उहाँले भन्नुभयो, ‘हामीले जो उम्मेदवार बनाउँछौँ तिनी नै राष्ट्रपति बन्छन् । त्यो १३ गते थाहा पाउनुहुन्छ । १३ गते नै म नाम लिन्छु ।’ यसमा माओवादीले साथ नदिने सम्भावना छैन ।