काठमाडौं — नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी जेलबाट रिहा भएका छन् । कैलाली कारागारमा थुनामा रहेका सांसद चौधरी आज आइतबार रिहा भएका हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आममाफी सूचीमा सांसद चौधरीको पनि नाम समावेश भएपछि उनी रिहा भएका हुन् ।

उनीसहित कैलाली कारागारबाट चार जना रिहा भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३ सय ९५ जना कैदीको सजाय माफी गरिदिनुभएको हो ।

रिहा भएलगत्तै उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन् । पार्टीका अन्य नेता, कार्यकर्ता र शुभेच्छुकले उनलाई अबीर र खादा लगाइदिएका थिए । चौधरीलाई वि.सं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर ६ महिना कैद सजाय सुनाइएको थियो । तर उनले कैद भुक्तान भने गरेका थिएनन् ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले कैलाली निर्वाचन क्षेत्र नं १ बाट सांसद पद जितेका थिए ।