काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, फाइल तस्वीर
सुर्खेत – नेपाली काङ्ग्रेसले आफ्नै पार्टीको उम्मेदवार राष्ट्रपति बन्ने बताएको छ । पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले सुर्खेत पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै यस्तो दावी गर्नुभएको हो ।
महामन्त्री शर्माले पार्टीकै कमजोरीको कारण काङ्ग्रेस सत्ता बाहिर पुगेको बताउनुहुँदै अबको राष्ट्रपति भने आफ्नै पार्टीको उम्मेदवार हुने जिकिर गर्नुभयो । गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काङ्ग्रेस पहिलो दल बनेको तर केही कारणवस नेपाली कांग्रेस सरकार बाहिर भएता पनि अब देशको नयाँ राष्ट्रपतिमा भने काङ्ग्रेसले उठाउने उम्मेदवारले जित्ने ठोकुवा गर्नुभयो । नयाँ राष्ट्रपतिको लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल अब केही दिनमा सकिंदैछ ।
सत्ता गठबन्धनबीच राष्ट्रपतिको विषयमा कुरा नमिल्दा दरार पैदा भएको छ । यतिमात्र होइन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सङ्कटमा परेको उल्लेख गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहमतिका आधारमा राष्ट्रपति बनाउन जोड दिंदै आउनु भएको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिको विषयमा छलफल गर्न २४ पटकसम्म वार्ता गर्दापनि निकास निस्कन सकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने एमालेलाई राष्ट्रपति दिने विषयमा सकारात्मक हुनुहुन्न भन्ने थाहा हुँदाहुँदै पनि एमालेले भने राष्ट्रपतिमा आफ्नो अडान छोडेको छैन । राष्ट्रपतिमा नेपाली काङ्ग्रेसको उम्मेदवारले जित्ने सम्भावना बलियो हुँदा सत्ता गठबन्धन नै परिवर्तन हुनेछ । नेपाली काङ्ग्रेसका प्रवक्ता एवम् पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने डा.प्रकाशशरण महतले राष्ट्रपतिमा नेपाली काङ्ग्रेसलाई जिताएमा प्रचण्डलाई पूरा कार्यकाल प्रधानमन्त्री बनाउनु सार्वजनिक गर्नुभएको छ । यसले पनि राष्ट्रपति निर्वाचनले सत्ता गठबन्धन पेचिलो बन्ने देखिएको छ ।