काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले अबदेखि कक्षा–९ मा मात्रै रजिष्ट्रेसन फाराम भर्ने व्यवस्था गरेको छ । बोर्डले दोहोरो रजिष्ट्रेसन फाराम भरिँदै आएकोमा माध्यमिक तहमा एकपटक रजिष्ट्रेसन फाराम भरे हुने गरी व्यवस्था गरेको हो ।

माध्यमिक तहमा कक्षा ९ र ११ मा दोहोरो रजिस्ट्रेसन फाराम भराउने गरिएको थियो । परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अबदेखि कक्षा ९ मा मात्रै रजिष्ट्रेशन फाराम भराउने र कक्षा ११ मा भने नभराउने व्यवस्था गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो–‘अब देखि कक्षा–९ मा मात्रै रजिस्ट्रेशन फाराम भरे हुन्छ,यसै वर्षबाट यो लागु भइसकेको छ ।’

बोर्डले कक्षा –११ का लागि प्रतिविद्यार्थीबाट रजिष्ट्रेशन शुल्क ८ सय रुपैयाँ उठाउँदै आएको थियो । तर,अभिभावक तथा सरोकारवालाहरूले सरकारले कक्षा–१२ सम्मलाई माध्यमिक तह कायम गरेकोले एकै तहभित्र दुईपटक रजिस्ट्रेशन फाराम भर्नु उपयुक्त नभएको आवाज उठाउँदै आएका थिए ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी पनि माध्यमिक तहमा एकपटक मात्रै रजिष्ट्रेशन गर्ने व्यवस्था गराउनुपर्ने माग गर्दै आउनुभएको थियो । त्यस्तै, नेपालको संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने उल्लेख छ ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ मा माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने व्यवस्था छ तर महालेखा परीक्षकको कार्यालयले ऐन विपरीत परीक्षा बोर्डले रजिष्ट्रेशन, परीक्षा, प्रमाणपत्र लगायत शीर्षकमा शुल्क उठाउँदै आएको भन्दै यस्तो नगर्न निर्देशन पनि दिएको थियो ।