सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, तस्वीरः सञ्चार मन्त्रालय
काठमाडौं — सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिनेगरी क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज (शुक्रबार) सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त कुराको जानकारी गराउनु भएको हो ।
यसअघि सरकारले दिएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको मन्त्री शर्माले पत्रकारहरुलाई जानकारी गराउनु भयो ।
सञ्चारमन्त्री शर्माका अनुसार २०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सक्ने बताउनुभयो । साथै बिदा व्यवस्थित गर्ने निर्णय गरिएको समेत मन्त्री शर्माले बताउनुभयो ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको जानकारी गराउनु भयो।
लगानी (इन्भेष्टमेन्ट) कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा सर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृत दिने, मण्डन देउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगंगा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ गरी आठ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने र बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७९–७९ मा प्रचालिक कानुन बमोजिम नष्ट गरिएका वस्तुहरूको लागि राहत प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
सरकारले यही फागुन १५ देखि १८ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५२ औं सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिएको छ ।