फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुरको बालकोट पुग्नुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुग्नुभएको हो ।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र त्यसपछि उत्पन्न राजनीतिक विषयमा दुई ठूला कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुको भेटघाट दैनिकजसो हुने गरेको छ । राष्ट्रपतिको निर्वाचन मिति नजिकिंदै गर्दा राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच अहिलेसम्म सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बालुवाटार र बालकोट धाउने क्रम चलिरहेको छ ।
राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा दुई घण्टाभन्दा धेरै समय एकल छलफल भएको थियो । तर उहाँहरुबीच अहिलेसम्म राष्ट्रपतिमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्रीमा पुष १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन गर्दा राष्ट्रपति पनि एमालेले पाउने गरी सहमति भएको थियो । एमाले सोही अडानमा देखिएको छ ।