सांसद अरुण चौधरी फाइल तस्वीर

काठमाडौं — सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषदले कैद मिनाहा गर्नेसम्बन्धी फाइल राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेसँग प्रक्रिया अघि बढेको हो ।

यसअघि महान्यायाधिवक्ता कार्यालयको सुझावको आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषदमा पठाएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा कैद माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुनेगर्दछ । ।

राष्ट्रपति कार्यालयले आगामी फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफीमिनाहा गर्नेप्रचलन छ । सांसद चौधरी कैदमुक्त हुनासाथ सांसदको जिम्मेवारी बहन गर्न पाउनेछन् । गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएको हो ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीमाथि ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजायको फैसला भएको थियो । सांसद चौधरी एकमहिना अघि पक्राउ परेका हुन् । नागरिक उन्मुक्ति पार्टीले पार्टीका संरक्षक रेशम चौधरी र सांसद चौधरीको रिहाइको माग गर्दै आएको छ । उन्मुक्ति पार्टीकै कारण सुदूरपश्चिम प्रदेशमा एक महिनाकै अवधिमा एमाले नेतृत्वको सरकार ढलेको थियो ।