फाइल तस्वीर
काठमाडौं — सङ्घीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक अबका दिनदेखि दिउँसो १ बजे बस्ने गरी नियमावलीको मस्यौदामा उल्लेख गरिएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले बैठकको सयम सामान्यतया दिउँसो १ बजे बस्ने गरी तय गरेको हो ।
नियमावली मस्यौदा समितिले तयार गरेको मस्यौदामा ‘सभामुखले अन्यथा आदेश दिएमाबाहेक सामान्यतया १ बजे बैठक सुरु हुनेछ’ भनि नियमावलीको परिच्छेद २ को (६) मा उल्लेख गरिएको छ, ‘तर, निर्धारित समयबाट एक घण्टासम्म पनि प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगित गरी अर्को बैठक बोलाउनेछन्’ भनिएको छ । यसअघि प्रतिनिधिसभा नियमावलीमा दुई घण्टासम्म बैठक नबसे मात्र सूचना प्रकाशित गरेर अर्को बैठक बोलाउने व्यवस्था राखिएको थियो ।
यसअघिको नियमावलीमा पनि दिउँसो १ बजे नै नियमित बैठक बस्ने व्यवस्था गरिएको थियो । तर, राजनीतिक दलहरूका कार्यक्रम तथा छलफलका विषयहरुको संवेदनशीलताका आधारमा संसद् बैठक अन्य समयमा पनि बस्ने गरेका थिए । अहिले गरिएको व्यवस्थामा पनि सभामुखले बैठकको समय तोक्न सक्ने उल्लेख छ । नियमावली मस्यौदा समितिले पारित गरेको मस्यौदा प्रतिनिधिसभाले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।