प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुहुँदै राष्ट्रिय जनमोर्चाका नेता, तस्वीर: प्रधानमन्त्रीको सचिवालय
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं अग्रपङ्तिमा रहेको बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान राष्ट्रिय जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो ।
राष्ट्रिय जनमोर्चाले सरकारलाई राष्ट्रियता, सङघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरुले प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाउनु भएको थियो ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेतृत्वको टोलीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । अन्य जिल्लाहरूमा पनि लुटपाटका घटना भएको भन्दै जनमोर्चाले सरकारसँग शान्ति सुव्यवस्थाको प्रत्याभूतको माग गरेको छ ।
राष्ट्रिय जनमोर्चाका नेताहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकलाइ सम्पर्क गरेर जनमोर्चाको ज्ञापनपत्र सम्वोधन हुने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो राजनीतिक जीवन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको तर, सङ्घीयता खारेज गर्नुपर्ने मागबाहेक अन्य मुद्दाहरूमा आफू पनि जनमोर्चासँगै रहेको बताउनु भएको थियो । ‘राष्ट्रियताको रक्षाका निम्ति म सधैं अग्रपङ्ति मै छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालयले बताएको छ ।