काठमाडौं — नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।